Section 4 : Computation and rate of tax
 “(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ ।”
(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची–१ मा उल्लिखित सम्बन्धित दरहरु लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा ५१ व ७१ वा दुवै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क( बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तनीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ ः–
(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र 
(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दावी नगरेको ।”
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नु पर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ ः–
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएकाृ व्यवसायबाट प्राप्त आय मात्र भएको,
(ख) व्यवसायबाट प्राप्त आय एक लाख पचास हजार रुपैयाँ र व्यवसायको कारोबार पन्ध्र लाख रुपैयाँभन्दा बढी नभएको, र”
(ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको ।
(५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नु पर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।
(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रुपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा ८७, ८८ र ८९ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम  बराबर हुनेछ ।